धर्ती आकाश नामक सिनेमा मार्फत सापट ब्वाईको रूपमा करियर सुरु गरी लाइट म्यान हुँदै मेकअप आर्टिष्ट बनेका वरिष्ठ मेकअप आर्टिष्ट इन्द्र लामा हाल किड्नीको समस्याले थालिएका छन् । विगत चार दशक देखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील उनले राजमती, आमा, पन्छी, सडक,मितिनी, मुनामदन,बसन्ती, यो पागल मन जस्ता सयौँ सिनेमामा काम गरिसकेका छन् ।
५३ वर्षाका इन्द्रको विगत ३ महिना देखि मिर्गौला सम्बन्धी समस्या आई शरीरको आधा भाग पक्षघात भएका कारण हाल मनमोहन हस्पिटल, स्वयम्भुमा उपचार गराइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा परिवारलाई समस्या भएका कारण उनले आफ्नो उपचारमा सहयोग गरिदिन नेपाली सिनेकर्मी र सिनेमा सम्बन्धी सङ्घ संस्थालाई आग्रह गरेका छन् ।
साथै उनको उपचारको लागि रकम जुटाउने उदेश्यका साथ नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) सँगको सहकार्यमा नृत्य निर्देशक समेत रहेकी उनकी छोरी माला लामा रंजितकारले यही पुस २७ गते राजधानी ब्याङ्क्वेट एण्ड मल्टीभेन्यु वनस्थली चोकमा च्यारिटेवल सांस्कृतिक कार्यक्रमको आयोजना समेत गर्दैछन । आफ्ना बाबुको जीवन रक्षाका लागि सबैले सहयोग गरी उक्त सांस्कृतिक कार्यक्रममा सहभागी भईदिन छोरी मालाले सबैलाई आग्रह गरेकी छिन् । बिशेषगरि सिने क्षेत्रमा आफ्ना बाबुले गरेको योगदानको कदर गर्दै कलाकार तथा प्राबिधिकहरुले सहयोग गरिदिनेमा पनि आशावादी भएको उनी बताउछिन ।