नेपाली चलचित्र ‘बोबी’को प्रिमियर नर्वेमा हुने भएको छ । रियल जोडी उमेश थापा र कविता गुरुङको प्रेमकथामा बनेको चलचित्रले पहिलो पटक नर्वेमा प्रिमियर गर्ने लागेको हो । चलचित्रलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । ‘बोबी’ नर्वेको त्यो मल्टीप्लेक्समा प्रिमियर हुनेछ, जहाँ हलिउडका मिसन इम्पोसिबल, जेम्स बोन्डका चलचित्र प्रिमियर भैसकेका छन् ।‘बोबी’लाई नर्वेमा स्क्यान्याण्डवियाको नोर्डिक्स फिल्म वितरण कम्पनीले देखाउने छ । मे १० मा प्रिमियर समापन हुने चलचित्रमा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवि गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।
नर्वेमै बस्ने इन्जिनियर उमेश र होटेल म्यानेजर कविताको प्रेमकथामा तयार गरिएको चलचित्रको स्क्रिप्ट संचारकर्मी नरेश भट्टराईले लेखेका हुन् । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रमा ताराप्रकाश लिम्बुको सङ्गीत, नवराजकृष्णको छायाङ्कन र अर्जुन जिसीको सम्पादन रहेको छ ।