लामो समयसम्म प्रेममा रहेका नायक संजोग कोइराला र नायिका वर्षा राउतले पहिलो पटक एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । ‘एउटा यस्तो प्रेम कहानी’ नाम रहेको चलचित्रमा वर्षा र संजोगको जोडी रहने बताइएको छ । चलचित्रलाई नेपाली सिने जगताक ‘ठूल्दाई’ अभिनेता शिव श्रेष्ठले निर्माण गर्ने लागेको हुन् । चलचित्रलाई ‘मन्दिर’ निर्देशक दिपेश सापकोटाले निर्देशन गर्दै छन् । हाल तौल घटाउन अष्ट्रलिया पुगेकी नायिका वर्षा राउतले सिनेपाटीसँग कुरा गर्दै चलचित्र साइन गरिसकेको जानकारी दिइन् । ‘अस्ट्रेलिया आउनु एक दिन अघि मात्र साइन गरेको हो । तर चलचित्रको लागी भने तौल घटाउन आएको होइन ।’ उनी भन्छिन् । त्यस्तै नायक संजोग कोइराला हाल चीनमा छन् । चलचित्रमा अभिनेता शिव श्रेष्ठको विशेष भूमिका रहने बताइएको छ । चलचित्रको कथा अभिनेता श्रेष्ठ आफैले लेखेका हुन् । बुझिए अनुसार नायक–नायिका बिनानै चलचित्रको छायाङ्कन गोप्य रूपमा सुरु भइसकेको छ । यो चलचित्रमा वर्षा र संजोगको साथमा नरेन खड्का , विष्णु चेम्जोगं लगायतका केही कलाकारहरू अनुबन्धित भइसकेका छन् ।