हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिस साम्राज्यविरुद्द नेपालले युद्ध लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्ध लड्नुपरेको थियो ।त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अङ्ग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालीन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अङ्ग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्धमा प्रस्तुत गरेको वीरता तत्कालीन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशासित भयो । उक्त लडाइँ नेपाली सेनाले तीन पटकसम्म जितेको थियो तर अङ्ग्रेज फौजले चलाख गरेर हराएको थियो । अङ्ग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाइँ गर्दा गर्दै नेपाली सेना पछाडि हट्न बाध्य बनेको थियो ।
यसै विषयमा आधारित रहेर नेपाली चलचित्र ‘नालापानी’ बन्न लागिरहेको छ । प्रोफेसर रामराजा कुँवर र डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रही चलचित्र बन्नेछ ।हाल यस चलचित्रको लागि कलाकारहरूको अडिशन भइरहेको छ । अडिशनको क्रममा हालै मात्र रंगमञ्चका कलाकारहरूको अडिशन लिइएको छ । काठमाण्डौको कान्तिपुर फिल्म एकेडमीमा रंगमञ्चका कलाकारहरू र कलाकारिता पढ्दै गरेका विद्यार्थीहरूको अडिशन भएको हो । यसअघि नेपाल आर्मीका जवानहरूको समेत अभिनयका लागि अडिशन भएको थियो । निर्देशक रमेश अधिकारीले ’नालापानी’मा अधिकांश कलाकार रंगमञ्च क्षेत्रका रहने बताएका छन् ।
छिट्टै नै कार्यशालामा जान लागेको ’नालापानी’ नेपालको इतिहासमै एउटा गर्व गर्न लायक यो वीरताको गौरवपूर्ण तथ्य समेटेर यो चलचित्र निर्माण हुने निर्माता मनोज शाक्यले बताए । झन्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको फिल्म ‘नालापानी’मा अर्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, पुजना प्रधान, ईशान बाजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरूको अभिनय रहनेछ । चलचित्रका कास्टिङ् निर्देशक राजेन्द्र रिमाल र जनक खकुरेल हुन् ।चलचित्रमा मजोन शाक्य निर्माताको रूपमा रहेका छन् । चलचित्रको लेखन रमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् ।