अभिनेत्री पूजा शर्माले निर्माण गर्न लागेको दोस्रो चलचित्रमा केही दिन अघि उनले कलाकार केदार घिमिरे उर्फ माग्ने बुढालाई अनुबन्धित गरेकी थिइन् । नयाँ चलचित्रमा पूजाले माग्नेलाई १० लाख पारिश्रमिक दिएको विषयले मिडियामा राम्रै चर्चा पायो ।
यति बेला चलचित्रमा कलाकार विल्सन विक्रम राई र रविन्द्र झा अनुबन्धित भएका छन् । बाहिरिएको खबर अनुसार दुवैलाई मंहगो पारिश्रमिकमा अनुबन्धित गरिएको हो । कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रको नाम भने खुलाइएको छैन । निर्माण पक्षको अनुसार केही दिनमा नै विशेष कार्यक्रममार्फत चलचित्रको नाम घोषणा गरिने छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दै छन् । यो चलचित्रलाई पूजा र सुदर्शन मिलेर निर्माण गर्न लागेका हुन् । यस अघि यी दुईले म यस्तो गीत गाउँछु निर्माण गरेका थिए । चलचित्रमा नायिकाको रूपमा पूजा शर्मा हुने छिन् भने यति बेला नायकको खोजी भइरहेको छ । प्रि प्रोडक्सनको काम भइरहेको चलचित्र माघको दोस्रो साताबाट फ्लोरमा जाने बताइएको छ।