पछिल्लो समयकी व्यस्त नायिका प्रियंका कार्कीको चर्चा फेरी एकपल्ट चुलिएको छ । यही साता उनी अभिनित चलचित्र बटरफ्लाई प्रदर्शनमा आएसँगै उनी अभिनित नयाँ चलचित्र लिलिबिलिको पहिलो गीत सार्वजनिक भएको छ । प्रियंकाको अभिनय नरहेको लिलिबिलिको पहिलो गीत रिलिज गर्न सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरिएको थियो ।उक्त कार्यक्रममा चलचित्र निर्देशक मिलन चाम्ससँगै नायकद्धय अनुप विक्रम शाही, प्रदीप खड्का र नायिका प्रियंका कार्की पुगेकी थिइन् । बोल्ड अन्दाजमा पुगेकी प्रियंकाले आफूलाई प्रदीप र नव नायिका जसिता गुरुङको काम मन परेको भन्दै प्रशंसा गरिन् ।
यसै चलचित्रमार्फत पहिलो पटक प्रियंका र प्रदीप स्किृन सेयर गर्दै छन् । जब लिलिबिलिमा प्रियंका फाइनल भएको खबर बाहिरिएको थियो तब धेरैले यो जोडी नसुहाउने अभिव्यक्ति दिएका थिए । यता प्रियंकालाई यही विषयमा सोधिएको प्रश्नमा भने कार्यक्रममा आक्रोशित भएकी थिइन् । उनलाई आफू भन्दा कम उमेरको नायक भाइसँग काम गर्दाको अनुभव कस्तो रह्यो ? भनेर सोधिएको थियो । प्रियंकाले जफाव स्वरूप 'सधैँ नायिकालाई मात्र यस्तो प्रश्न किन ? नायकले २०-२५ वर्ष कम उमेरको नायिकासँग काम गर्दा भने केही नहुने ?' भन्दै प्रतिप्रश्न गरेकी थिइन् । नायक प्रदीप खड्काले भने माहौल मिलाउँदै उमेर भन्दा पनि मन मिलेको बताएका थिए ।