पछिल्लो समय नेपाली सिने नगरीमा नाम र दाम कमाउने कलाकार मध्य अगाडी छन् अभिनेता बिपिन कार्की र अभिनेत्री मेनुका प्रधान । दुवैले अभिनयको सुरुवात रंगमञ्चबाट गरेका हुन् । यी दुईले गर्ने जीवन्त अभिनयको कारणपनि युवा जमातमा विपिन र मेनुकालाई रुचाउने जमात ठुलो छ । हरेक चलचित्रमा फरक भूमिकामा देख्न रुचाउने विपिनलाई चलचित्र ‘पशुपति प्रसाद’मा ‘भष्मे डन’ले अझ चर्चामा ल्यायो । त्यस लगतै चलचित्र ‘जात्रा’मा उनले गरेको अभिनयले वाहवाही पाएको थियो ।

यता मेनुका पनि प्रत्येक चलचित्रमा फरक भूमिकामा गर्ने रुचाउन्छिन् । तर जब गायक हेमन्त रानाको ‘साइली’ गीत सार्वजनिक भयो । मेनुकाको परिचय पनि साइलीमा परिणत भएको थियो । लामो समय देखि एकअर्कासँग परिचित विपिन र मेनुकाले भने पहिलो पटक चलचित्र ‘लालपुर्जा’मा काम गरेका छन् । ‘मेनुकाको नाटकहरू हेरेको छु । उनीसँग काम गर्ने मन थियो ।’ विपिन भन्छन् । यता विपिनलाई दाइ भनेर बोलाउने मेनुका भन्छिन् ‘सुरुवाती दिनबाट नै विपिन दाइको काम गर्ने शैलीबाट प्रभावित भएको थिए । अहिले एकसाथ काम गर्ने मौका जुरेको छ । ’ चलचित्र ‘लालपुर्जा’मा यी दुई कलाकार श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन् । ‘चलचित्रमा हामी दुईको धेरै सिन छैन । तर थोरैमा पनि सम्झन लायक भूमिका रहेको छ । दुवै खुसी छौ । ’ सिनेपाटीसँग कुरा गर्दै दुवैले बताए । माघ ४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘लालपुर्जा’लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।