अन्तत  चैत्र १६ गते अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘ह्याप्पी डेज’ प्रदर्शन हुने भएको छ । यसअघि माघ १२ गते रिलिज डेट राखिएको चलचित्रले दुई बलिउड चलचित्र ‘पद्मावती’ र ‘प्याडम्यान’ आउने भएपछि पछाडि सारिएको थियो । निर्देशक मिलन चाम्सका अनुसार, अब चैत १६ गतेबाट चलचित्रको रिलिज फेरबदल हुने छैन ।  वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको चलचित्रमा दया र प्रियंकाको साथमा सञ्जय गुप्ता, दिया पुन, वाक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स, जन बकल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । डार्क कमेडी जनरामा बनेको चलचित्रमा पैसा कमाउन बेलायत पुगेका नेपाली युवकको कथालाई उठाइएको छ ।