चलचित्र ‘लिलिबिली’मा समावेश भएको ‘इज इट लभ’ बोलको गीत नेपालको युट्युव ट्रेन्डीङमा नम्बर १ मा पुगेको छ । सोमबार काठमाडौँमा कार्यक्रम राख्दै सार्वजनिक गरिएको गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ । गीतलाई एलिश कार्कीले सङ्गीत भरेका हुन् भने राजेश कुमार श्रेष्ठले शब्द रचना गरेका हुन् । गीतलाई हालसम्म ६ लाख बढी पटक हेरिएको छ भने भिडियोमा १२ हजार बढी लाइक र ७०० बढी डिसलाईक रहेको छ। मिलन चाम्स निर्देशित चलचित्र लिलिबिलीको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । भिडियोमा चलचित्रका मुख्य पात्र प्रदीप खड्का र नव नायिका जसिता गुरुङको अभिनय रहेको छ ।
गोविन्द शाही र सुदिप खड्का निर्माताको रूपमा रहेको चलचित्रमा प्रदीप र जसिता अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठको मुख्य भूमिका रहेको छ । सुदिप बरालको छायाङ्कन रहेको चलचित्र वैशाख १४ गते प्रदर्शन हुने भनिएता पनि अझै चलचित्रको रिलिज मिति अन्योलमा रहेको छ ।