गत शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र 'मिस्टर झोले'को टिमले चलचित्रको पाँच दिने कलेक्सन सार्बजनिक गरेको छ । पाँचौ दिनसम्म आईपुग्दा चलचित्रले २ करोड २२ लाख ग्रस कलेक्सन गर्न सफल भएको वितरक गोविन्द शाहीले जनाएका छन् ।

 

पहिलो दुई दिनमा चलचित्रले १ करोड १० लाख कलेक्सन गर्न सफल भएको थियो जसमा उपत्यकाबाट ७० लाख र उपत्यका बाहिरबाट ४० लाख ग्रस रहेको छ । चलचित्रले आइतबार र सोमबार देशभरबाट ८४ लाख ग्रस बटुल्न सक्यो जसमा उपत्यकाबाट ४६ लाख र बाहिरबाट ३८ लाखको योगदान रहेको छ । यस्तै पाँचौ दिनमा चलचित्रले उपत्यकाबाट १५ लाख र उपत्यका बाहिरबाट १३ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।

रामबाबु गुरुङ निर्देशित 'मिस्टर झोले'ले दर्शकबाट सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ । चलचित्रमा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका रहेको छ । रामबाबुकै कथा रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।