हास्य कलाकार किशोर भण्डारी उर्फ डिट्ठा साबले चलचित्र निर्देशन गर्ने भएका छन् । बुधवार मण्डला नाटक घरमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । ‘चङ्गा’ नाम गरिएको चलचित्रलाई रिश्मा तिमल्सिनाले निर्माण गर्दै छिन् । उनी बुनु मैचाको नामबाट परिचित छिन् । चलचित्रको कथा किशोर स्वयंमले लेखेका हुन् । ह्युमर कमेडी बताइएको चलचित्रमा बुद्धि तामाङ, राजन खतिवडा, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, जीवन भट्टराई, प्रेम वर्षा लगायतका कलाकारको अभिनय रहेको छ । माघ २० बाट छायाङ्कन सुरु गरिने चलचित्र आउँदो २०७५ जेठ ११ गते रिलिज हुने छ । चलचित्रमा राजनराज सिवाकोटी र कमल खत्रीको सङ्गीत रहनेछ ।