अभिनेता निखिल उप्रेती चलचित्र ‘पिँजडा ब्याक अगेन’को प्रिमियर सो सम्पन्न भएको छ । बुधवार राइजिइ मलमा चलचित्रको प्रिमियर सो आयोजना गरिएको थियो । प्रिमियरमा अभिनेता निखिल उप्रेतीसँगै नायिका सारा श्रीर्पाली, निर्देशक हिमाल केसी, वितरक गोपाल कायस्थ उपस्थित थिए । त्यस्तै कार्यक्रममा अभिनेत्री संचिता लुईँटेल, निर्देशक मिलन चाम्स, कलाकार निर्मल शर्मा लगायतका विभिन्न व्यक्तिव्वहरुको उपस्थिति रहेको थियो ।
अभिनेत्री संचिता लुईँटेलले चलचित्र हेरेपछि निखिलको एक्सन मन परेको प्रतिक्रिया दिएकी थिइन् । चलचित्र हेरेपछि धेरैले निखिलको एक्सन र नायिका सारा श्रीपालिको अभिनय राम्रो रहेको प्रतिक्रिया दिएका थिए । उपत्यका बाहिर बिहीबार र उपत्यकामा यही शुक्रवारबाट प्रदर्शन हुन लागेको चलचित्रलाई हिमाल केसीले निर्देशन गरेका हुन् । चलचित्रमा निखिल र साराको अलावा पुकार भट्टराई, ज्याक श्रेष्ठ, बाल कलाकार कुशाग्र भट्ट्राई लगायतका कलाकारको अभिनय रहेको छ ।
श्रीराम बराल निर्मित ‘पिँजडा ब्याक अगेन’ मा रमेश सुवेदी र बाबुराज सह निर्माताको रूपमा रहेका छन् । चलचित्रमा वसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता तथा रोहित पुरी, गोविन्द गौर र चन्द्र बहादुर खत्री निर्माताको रूपमा छन् । मौनता श्रेष्ठको कथा, सौरभ लामाको छायाङ्कन र निर्देशक केसीको द्धन्द्ध निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेल, राजनराज सिवाकोटीको सङ्गीत रहेको छ ।