भोलि शुक्रवारबाट उपत्यकामा प्रदर्शन हुन लागेको चलचित्र लाल पुर्जाले बिहीबार प्रिमियर सो सम्पन्न गरेको छ । दरबारमार्ग स्थित क्युज सिनेमामा आयोजना गरिएको प्रिमियर सोमा दर्जनबढि चलचित्र कर्मी, संचारकर्मी र विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की, मिरुना मगर, सृष्टि श्रेष्ठ लगायतका अन्य कलाकारको उपस्थित रहेको थियो ।

चलचित्र हेरिसके पश्चात् धेरैले चलचित्रबाट फरक स्वाद पाएको प्रतिक्रिया दिएका थिए । लेखक तथा लाल पुर्जाका अतिथि लेखक समेत रहेका कुमार नगरकोटीले चलचित्रलाई दर्शकले मनपराउनेमा आशावादी रहेको बताए । उनले आफूले लेखेको कथालाई चलचित्रमा न्याय पाएको बताएका छन् । यता निर्देशक तथा कलाकार सोभित बस्नेतले चलचित्रबाट सौगात र बिपिनको अझ बढी फ्यान भएको बताएका छन् । अभिनेत्री सृष्टि श्रेष्ठले चलचित्रमा सौगात र विपिनको काम मन परेको बताएकी थिइन् ।

विक्रम सिंह थारु र उमेश श्रेष्ठको संयुक्त लगानी रहेको चलचित्र ‘लाल पुर्जा’ मा सौगात, विपिन, मिरुना सँगै अभिनेता हरिहर शर्मा, कामेश्वर चौरसिया, मेनुका प्रधान, मिस्री थापा, कुमार नगरकोटी, कमलमणी नेपाल लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।