चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को फस्टलुक सार्वजनिक गरिएको छ । शुक्रवार कोरियोग्राफर रेनषा बान्तवा राईको डेव्यु निर्देशकिय चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को पहिलो लुक सार्वजनिक गरिएको हो । चलचित्रको नेपालको सबै र युकेको छायाङ्कनको पहिलो तालिका सहित ७५ प्रतिशत छायाङ्कन सकिएको निर्माणले जनाएको छ । सार्वजनिक गरिएको पहिलो लोकमा चलचित्रमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर रोमान्टिक मुडमा देखिएका छन् । चलचित्रको बाँकी रहेको २५ प्रतिशत वसन्त ऋतुको समयमा चैत र वैशाखमा युकेमा नै छायाङ्कन गरिने निर्माण पक्षले बताएको छ । 

 

प्रज्ज्वल समशेर जबरा र रेनषाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सरुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ । आई कोर फिल्मस्को ब्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । चलचित्रका सह(निर्माताहरूमा सुलेखा राई, वसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । 

चलचित्रको लेखकमा अभिमन्यु दिक्षित र रेनषा रहेका छन् । भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायाङ्कन रहेको ‘इन्टु मिन्टु लन्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको सङ्गीत रहेको छ ।