नेपाल चलचित्र प्राविधिक सङ्घले आयोजना गर्ने नेफ्टा अवार्डको दसौँ संस्करण आगामी फागुन ३० गते हुने भएको छ । अध्यक्ष पुष्कर लामा    (प्रेम भोम्जन)ले आफ्नो जन्मदिन र बसन्तपञ्चमी छेकोमा सोमबार मिति घोषणा गरे । 
यसपटकको अवार्ड पनि विदेशमै हुने भएको छ । उत्कृष्ट पाँच घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको नाम समेत सार्वजनिक गरिने लामाले बताए । आउँदो सातादेखि पाँच सदस्यीय जुरीले फिल्म मूल्याङ्कनको काम सुरु गर्ने छन् । 
दुई सातापछि सांस्कृतिक प्रस्तुति दिने कलाकारले रिहर्सल थाल्नेछन् । अवार्डको एघारौँ संस्करण आगामी दसैँ अगाडि नै आयोजना हुने जनाइएको छ । ‘हामी दुवै अवार्डमा जुटिसकेका छौँ’ उनले भने, ‘दसौँ अवार्डको लोकेसन र विस्तृत पक्ष उत्कृष्ट पाँच घोषणा बेला सार्वजनिक गर्नेछौँ ।’
चलचित्र प्राविधिकको छाता संस्थाले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड सम्पन्न गरेको छ । नेफ्टाले विदेशमा अवार्ड आयोजना हुनुलाई अन्तराष्ट्रियकरणको यात्राको रूपमा बताएको छ ।