नेपाल चलचित्र सङ्घको ४५ आैँ वार्षिक साधारण सभा आगामी चैत्र ६ गते बुटवलमा सम्पन्न हुने भएको छ । बुधवार चलचित्र सङ्घको केन्द्रीय कार्यालय विशालनगरमा बसेको कार्यसमिति बैठकले ४५ औँ साधारण सभा बुटवलमा गर्ने निर्णय सर्वसम्मतले पारित गर्दै कार्य समिति सदस्य कपिल प्रसाद द्धाको संयोजकत्वमा साधारण सभालाई सभ्य र भव्य बनाउनको लागी ७ सदस्यीय साधारण सभा तयारी समिति गठन गरिएको छ ।
 

यस्तै बुधवार बसेको कार्यसमिति बैठकले अहिले हरेक सिनेमाले अत्याधिक रूपमा व्यापार भएको गलत समाचार सम्प्रेषण प्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । अहिले सञ्चार माध्यमका समाचार सम्प्रेषण भए अनुरूप नेपाली सिनेमाको व्यापार नभएको निकष्र्ष निकालेको छ । अब देखि  यस्ता किसिमका अनर्गल प्रचार प्रसारले नेपाली सिनेमा क्षेत्रलाई प्रतिकूल असर पर्ने भन्दै आज देखि यस्ता किसिमका अनर्गल प्रचार प्रसार नगरी सिनेमाको सत्य तथ्य र यथार्थपरक व्यापारिक रिर्पोट मात्रै सञ्चार माध्यममा सम्प्रेण गरी दिन चलचित्र सङ्घका वितरक सदस्यहरूलाई अनुरोध गरेको सङ्घका अध्यक्ष प्रदिप कुमार उदयले बताए ।