नेपाली चलचित्र 'रानीमहल'को औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको निर्माण घोषणा गरिएको हो । चलचित्रमा नायिका वर्षा सिवाकोटी र नव नायक आशिष अधिकारी मुख्य भूमिकामा देखिने भएका छन् । स्वस्तिक फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम रानीमहन भएता पनि पाल्पामा रहेको रानीमहल दरबारसँग चलचित्रको कथावस्तु कुनै सम्बन्धित नरहेको निर्माण पक्षले बताएको छ । पाल्पा स्थित रहेको रानीमहललाई नेपाली समाजको प्रेमको प्रतीकको रूपमा हेरिने गरिन्छ । चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गर्नेभएका छन् । त्रिकोणात्मक प्रेम कथामा आधारित  चलचित्रमा वर्षा र आशिषको साथमा नीर शाह, विएस राणा, केशव भट्टराई, सुस्मिता बम्जन, प्रशान्त ताम्रकार, रश्मी भट्ट, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, साहित श्रेष्ठ, मानस्वी खरेल, युनिता खत्री, वासु खनाल, शिलु पाेखरेल लगायत कलाकारहरूको अभिनय रहनेछ ।डेढ करोड लगानीमा बन्न लागेको चलचित्रको छायाङ्कन माघको तेस्रो सातादेखि सुरु हुने बताइएको छ ।  चलचित्रको छायाङ्कन बुटवल, भैरहवा, चितवन, स्यांजा, पाल्पा र काठमाण्डौंमा हुने निर्माण पक्षले जनाएको छ ।  दीपक पौडेलको छायाङ्कन, अर्जुन पोखरेल र हर्कुलस बस्नेतको कथा सङ्गीत रहेको चलचित्रमा हिमाल केसीको द्धन्द्ध निर्देशन रहनेछ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् । चलचित्रमा कस्ट्युम  डिजाइनकाे पाटाे भने सुष्मा थापाले समालेकी  छिन् ।