चलचित्र ‘शत्रु गते’को दोस्रो गीत ‘पिरतीको बर्को’ सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको दोस्रो गीत सार्वजनिक गरिएको हो । प्रविन सिंहको नृत्य निर्देशन रहेको सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटाको स्वर तथा सङ्गीत रहेको छ । गीतमा शब्द भने अर्जुन भट्टराईले लेखेका हुन् । सार्वजनिक गीतमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ ।

मह सञ्चारको प्रस्तुति रहेको चलचित्र ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । प्रदीपले यस अघि ‘जात्रा’ निर्देशन गरेका थिए । जुन चलचित्रले ५१ औँ दिन मनाउँदै सुपरहिट भएको थियो । चलचित्रमा कथा हरिवंश आचार्यको रहेको छ भने पटकथा दीपकराज गिरी र निर्देशक भट्टराईको रहेको छ । चलचित्रलाई कलाकार किरण केसीले निर्माण गरेका हुन् । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल चलचित्रका निर्माता हुन् । दीर्घ गुरुङको छायाङ्कन रहेको चलचित्रमा पल र आँचलको अलावा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल, बसुन्धरा भूसाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र चैत्र ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।