यही फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र कान्छीले मोफसलको यात्रा सुरु गरेको छ । चलचित्रको प्रसार प्रचारको क्रममा यति बेला निर्मात्री तथा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई चितवन पुगेका छन् । चितवस्थित भरतपुरमा गरिएको प्रेसमिटमा कान्छीले दर्शकलाई रिझाउने श्वेता र दयाले विश्वास दिलाए । कोहिनूरपछि चलचित्र निर्माणमा फर्किएकी श्वेताले चितवन आफ्नो माइत घर रहेको समेत बताइन् ।उनको पहिलो चलचित्र कहाँ भेटिएलाको छायाङ्कन चितवनमा गरिएको थियो ।स्व.शिव रेग्मी निर्देशित उक्त चलचित्रमा श्वेताको अपोजिटमा स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठ थिए । यता अभिनेता दयाले चलचित्र कान्छी समसामयिक कथा वस्तुमा राम्रो फिल्म बनेको बताए ।सानो सपना र ठुलो दुःख भोगाइको नै कान्छी रहेको उनले बताए । आकाश अधिकारी निर्देशित चलचित्र युनिटसँग काम गर्दा रमाइलो र सजिलो रहेको अनुभव पनि दयाले सुनाए । याम थापाको कथा रहेको कान्छीमा श्वेता र दयासँगै वरिष्ठ कलाकार निर शाह, नायिका अनु शाह, कलाकारहरू कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ लगायतको अभिनय रहेको छ । 

 

राजनराज सिवाकोटीको सङ्गीत रहेको कान्छीको चरी चट्ट परी बोलको गीत हिट भैसकेको छ भने अर्जुन पोखरेलको सङ्गीत रहेको ए कान्छी बोलको गीतले पनि दर्शक तथा श्रोताको मन जितिरहेको छ । चलचित्र लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।