निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘रामकहानी’को छायाङ्कन सुरु भएको छ । पोखराको माथिल्लो डाँडा कास्कीकोटबाट चलचित्रको शुभमुर्हत गरिएको छ । मङ्गलवार शिवरात्रीको दिनबाट रामकहानीको सुरुवात भएको छ । पहिलो दिनमा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार राजाराम पौडेलले टेक दिएका थिए ।
४५ दिन छायाङ्कन गरिने चलचित्रको २ साता कास्कीकोटमा सुटिङ हुने निर्माणपक्षले जनाएको छ । सुदर्शन र पूजाको संयुक्त लगानीमा सुरु निर्माण भइरहेको चलचित्रमा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । प्रेम र कमेडी मिश्रित चलचित्र भदौ २२ गते तीजको अवसरमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।