युवा स्टार नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ दोस्रो सातामा प्रवेश गरेको छ । चलचित्रले प्रदर्शन भएको छैटौँ दिनमा नै लगानी सुरक्षित गरेको निर्माणपक्षले दाबी गरेको छ । बिहीबार राजधानीमा एक विशेष भेटघाटमा चलचित्रका निर्माता सुवास गिरीले ६ दिनसम्म आइपुग्दा देशभरका ११८ पर्दाबाट ५ करोड ४० लाख ग्रस कलेक्शन गरेको दाबी गरेका छन् ।
उनका अनुसार, चलचित्रले ५ करोड ५० लाख ग्रस कलेक्शन गर्दा उनको हातमा २ करोड ४० लाख पर्न जान्छ । यस्तै, चलचित्रको ओभरसिज राइट्स ८० लाख र विभिन्न ब्रान्डबाट ५० लाख आफ्नो हातमा आइसकेको सुवासको भनाई छ ।
यसरी, हेर्दा चलचित्रले हालसम्म ३ करोड ७० लाख रुपैयाँ निर्माताको हातमा सुरक्षित गरिसकेको छ । चलचित्रको बजेट साढे ३ करोड माथिको बताइएको छ । यता अर्का निर्माता भुवन केसीले कृले हिन्दी चलचित्रलाई पछारेको दाबी गरे । उनले पत्रकारसँग कुरा गर्दै कृले नेपाली चलचित्रसँग नभई विदेशी चलचित्रसँग प्रतिस्प्रर्धा गरेको बताएका छन् ।
दोस्रो सातामा आइपृुग्दा पनि कृ ८० बढी हलमा चल्ने निर्माण पक्षले जानकारी दिए । सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अनमोलको साथै अदिति बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।