आज फागुन ४ गतेबाट सिनेमा हलमा ‘कान्छी’ प्रदर्शन भएको छ । अभिनेत्री श्वेता खड्का निर्माण र अभिनय रहेको चलचित्रले शुक्रवार बिहान प्रेस सो आयोजना गरेको थियो । विग मुभिज कमलपोखरीमा भएको प्रेस सोमा चलचित्रका कलाकार, संचारकर्मी र साथमा स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको परिवार उपस्थित रहेका थिए । प्रेस सो पश्चात् मिडिया सामु कुराकानी गर्दा अभिनेत्री खड्का स्व. अभिनेता श्रीकृष्णलाई सम्झेर रोएकी थिइन् ।
केही बेर माहौल निकै भाव बिभोर बनेको थियो । सबैको साथ र मायाको कारण आफ्नो रोएको श्वेताले बताइन् । आकाश अधिकारीको निर्देशनमा तयार भएको चलचित्रमा श्वेताको साथमा अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको छ । विशुद्ध प्रेमकथामा बनेको चलचित्र ‘कान्छी’बाट आफूले सोचेको जस्तो प्रतिक्रिया पाएको खुसी भएको निर्देशक अधिकारीले बताए । चलचित्रमा दया र श्वेताको अलावा निर शाह, कामेश्वर चौरासिया, प्रज्ज्वल सुजल गिरि, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। शुक्रवार बिहानी सोमा अन्तर्गत मल्टिप्लेक्समा चलचित्रको राम्रो अकुपेन्सी रहेको छ।