सफलताको साथ दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘कृ’को नयाँ गीत शुक्रवार सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीत यति बेला नेपालको ट्रेन्डिङ नम्बर १ मा पुगेको छ । पुरानो सुपरहिट चलचित्र ‘सम्झना’मा रहेको ‘उकालीमा पछि पछि..’बोलको गीतलाई रिमेक गर्दै चलचित्र ‘कृ’मा समावेश गरिएको छ । रञ्जित गज्मेरको सङ्गीतले भरिएको गीतलाई अल्मोडा राना उप्रेतीले रिमेक गरेका छन् । 

भिडियोमा चलचित्रका नायक अनमोल केसी र नायिका अदिति बुढाथोकी फिचर छन् । एञ्जिला खत्रीले भिडियोलाई कोरियोग्राफी गरेका हुन् । सुरेन्द्र पौडेलको निर्देशन, सुवास गिरी र भुवन केसीको निर्माण रहेको चलचित्र कृमा अनमोल र अदितिसँगै अनुपबिक्रम शाहीको मुख्य भूमिका रहेको छ ।