चलचित्र ‘शत्रु गते’मा समावेश भएको गीत ‘रूपै मोहनी’ रिलिज अगावै एक करोड क्लबमा प्रवेश गरेको छ । युट्युबमा रुचाइएको यो गीत गत डिसेम्बर २९ मा अपलोड गरिएको थियो । गीतको भ्युज एक करोड भन्दा बढी भएको खुसीयालीमा निर्माण पक्षले केक काटेको छ । चलचित्रका अभिभावक तथा निर्माता मह सञ्चारका म अर्थात् मदनकृष्ण श्रेष्ठ र ह अर्थात् हरिवंश आचार्यको उपस्थितिमा चलचित्र युनिटले केक काटेको थियो ।
राजधानी स्थित रेडियो अडियोमा उपस्थित टिमले दर्शक तथा श्रोतालाई धन्यवाद दिँदै करोड भ्युअर्स पुगेको उपलक्ष्यमा केक काटेका थिए । सेलिब्रसनमा कलाकारहरू दीपक राज गिरी , दीपाश्री निरौला , शिवहरी पौडेल , पल शाह , आँचल शर्मासँगै प्रस्तुतकर्ता किरण केसी र निर्देशक प्रदीप भट्टराई पनि उपस्थित थिए । सोही अवसरमा पलको पनि जन्मोत्सवलाई सेलिब्रेट गरिएको थियो । उनको केक काट्दै निर्माण पक्षले दीर्घायु तथा सफलताको कामना गरेको थियो । ‘रूपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा सङ्गीत टंक बुढाथोकीले दिएका छन् ।
िहरिवंश आचार्यको कथा रहेको शत्रु गतेमा पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । यसमा छायाङ्कन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । चलचित्र चैत्र ९ मा रिलिज हुनेछ ।