सन् २००३ को फ्रेब्रुअरी ८ मा 'हरपल', 'एक मौका', 'बिर्सन' जस्ता हिट नेपाली पप गीतहरु संकलित एल्बम "आस्था" बाट नरेन लिम्बु र सुदिप गुरुङ नेपाली सांगीतिक बजारमा उदाएका हस्ती हुन् । अब १५ वर्ष पछि सोहि एल्बमको नाम "आस्था"बाट फिचर फ्लिम बन्ने भएको छ । चलचित्रमा गायक नरेन लिम्बुको कथा तथा निर्देशन रहनेछ ।
चलचित्र "आस्था" दाजु र बहिनीको कथामा आधारित पारिवारिक बिषय बस्तु बोकेको चलचित्र बन्ने भनिएको छ । चलचित्रको मुख्य भूमिकामा गायक नरेन लिम्बु आफै देखिने भएका छन् भने बहिनीको भूमिका कुसुम गुरुङले निर्वाह गर्ने भएकी छिन् । नायिका कुसुम गुरुङ सुनिल पोखरेल निर्देशित बहुचर्चित नाटक 'हरियो ढुंगा' मा अभिनय गरिसकेकी कुशल थिएटर आर्टिस्ट हुन् । चलचित्रमा यी दुईका अलावा मिस युके नेपाल २०१७ की बिजेता सिर्जना गुरुङको समेत अभिनय रहनेछ ।