चलचित्र ‘भैरे’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतमा चलचित्रका कलाकारहरू वर्षा सिवाकोटी, बुद्धि तामाङ र बिक्रान्त बस्नेतले कम्मर मर्काएका छन् । 
 

निर्देशक एभरेष्ट सूर्य बोहरा र वसन्त सापकोटाको शब्द रहेको गीतमा वसन्तको सङ्गीत रहेको छ । गीतमा यम बराल, वसन्त सापकोटा र मेलिना राईको स्वर रहेको छ । गीतको भिडियोमा कविराज गहतराजले लोभलाग्दो कोरियोग्राफी गरेका हुन् । भिडियोलाई पुरुषोत्तम प्रधानले छायाङ्कन गरेका हुन् । निर्देशक बोहराको कथा रहेको चलचित्रमा  निर्माताको रूपमा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत चलचित्रकाा सह–निर्माता हुन् । सूर्य थोक्करको द्वन्द्व रहेको चलचित्रमा वर्षा, बुद्धि र बिक्रान्तको साथमा दयाहाङ राई,  सुरक्षा पन्त, सुनिल थापा, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।  लेख बहादुर पुन कार्यकारी निर्माता रहेको चलचित्र ‘भैरे’मा वसन्त श्रेष्ठ र रामजी लामिछानेको पनि कोरियोग्राफी रहेको छ । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित चलचित्रको प्रदर्शन मिति वर्ष २०७५ को जेठ १८ गतेलाई तय गरिएको छ ।