शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘गाँजाबाजा’ले यति बेला राम्रो प्रतिक्रिया पाइरहेको छ। सनिकार राखिएको प्रेस सोमा चलचित्र हेरेका पत्रकारहरूले राम्रो रहेको प्रतिक्रिया दिएका थिए । चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले गाँजाबाजा हेर्दा मज्जा आएको प्रतिक्रिया दिएका छन् । धेरैले चलचित्रको प्रस्तुति र कलाकारको अभिनयलाई रुचाए ।

सुशील सिटौला र अनुपम शर्माको मुख्य भूमिका रहेको चलचित्रमा गाँजा खोज्न हिँडेका युवाहरूको एक दिनको कथालाई देखाइएको छ । चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रमा सुशील र अनुपमको साथमा वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुवेर सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा निख एण्ड जटाको सङ्गीत, योकोपो रास्लिकको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । बाबा सिनेमा निर्माण कम्पनीको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा  दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।