केही समय अघिबाट सुरु भएको नयाँ सिरिज ‘ट्वान्टी फस्ट लभ’ प्रसारण गर्न कान्तिपुर टेलिभिजनले रोक लगाएको छ । चर्चित नृत्य समूह कार्टुन् क्रुज्का सरोज अधिकारी, आश्मा विश्वकर्माको मुख्य भूमिका रहेको सिरिज मार्च १ गतेबाट कान्तिपुर टेलिभिजनमा प्रसारणमा आएको थियो । पहिलो श्रृंखला प्रसारण भएता पनि दोस्रो श्रृंखला भने टेलिभिजनमा आएन् । कान्तिपुरले प्रसारणमा रोक लगाउनुमा सिरिजमा बोलिने शब्द र देखाइएको दृश्यको कारण राष्ट्रिय टेलिभिजनमा देखाउन लायक नभएको बताएको छ । बुझिए अनुसार परिवारसँग बसेर हेर्न नहुने र समाजलाई पाच्य नहुने खालको शब्द र दृश्यहरू अत्याधिक मात्रामा प्रयोग भएको कारण कान्तिपुरले सिरिज नै खारेज गरेको बताइएको छ ।
सरिन पोखरेलको निर्देशन, मिलन शङ्कर र ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको उक्त सिरिजलाई ईश्वर गुरुङले निर्माण गरेका हुन् । यसबारेमा सिरिज निर्माण टिमबाट भने केही प्रतिक्रिया आएको छैन । यो सिरिज टेलिभिजनमा बन्द भएसँगै युट्युबमा पनि बन्द हुने हो कि होइन त्यो भने केही दिनमा थाहा हुने छ ।