पुरन थापाको लेखन, निर्माण र निर्देशन रहेको चलचित्र ‘फेरि–फेरि’को ८५ प्रतिशत छायाङ्कन सकिएको निर्माण पक्षले बताएको छ । माघको तेस्रो साताबाट छायाङ्कन सुरु भएको चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, निर्देशक पुरन स्वयम्, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिका गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला,एलिना बास्कोटा,सोनीका बास्तोला, राम बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको बिहीबार भक्तपुर, सूर्यबिनायकमा द्धन्द्ध दृश्यको छायाङ्कन गरियो । चलचित्रको क्लाइमेक्स फाइट झन्डै दश दिन लगाएर खिचिएको निर्देशक पुरनले जनाए । चलचित्रलाई गुणस्तरिय बनाउन कुनै कसरत नराखेको निर्देशक थापाले बताए । अब चलचित्रको केही सिन , दुई गीत र एउटा एक्सन बाँकी रहेको उनले बताए ।
सुरेश बज्राचार्यको छायाकन रहेको चलचित्रका निर्माता पुरनका छोरा निरज थापा हुन् । चलचित्र दशैसम्म प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।