चर्चामा रहेको सिरिज ‘ट्वान्टी फस्ट लभ’ पुन कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ । हाईस्कुल नामक सिरिजबाट चर्चा कमाएको समूहले ‘ट्वान्टी फस्ट लभ’ निर्माण गरेको थियो । युट्युबको साथ कान्तिपुर टेलिभिजनमा पनि प्रसारण हुने भनिएको सिरिजलाई पहिलो श्रृंखला प्रसारण भए कान्तिपुर टेलिभिजनले रोक लगाएको खबर बाहिरिएको थियो । कान्तिपुरले प्रसारणमा रोक लगाउनुमा सिरिजमा बोलिने शब्द र देखाइएको दृश्यको कारण राष्ट्रिय टेलिभिजनमा देखाउन लायक नभएको बताएपनि सिरिजका निर्देशक सरिन पोखरेलले बाहिरिएको खबर गलत भएको बताएका छन् । उनी भन्छन्  'केही दृश्यमा कान्तिपुर टेलिभिजनले आपत्ति जनाएको हो । तर कान्तिपुरले सिरिजलाई खारेज गरेको भने छैन । कान्तिपुरसँग हाम्रो टिमको सहमति भइसकेको छ ।'  उनी थप्छन् 'टेलिभिजनमा धेरैले सेन्सर हुने रहेछ । फेरि प्रसारण भएको केही समय अघिमात्र सेन्सर भएको कारण हामीले दोस्रो एपिसोडको लागी रिसुट गर्न सकेनौँ । '

सिनेपाटीसँग कुरा गर्दै सरिनले कान्तिपुरमा पुरानै समयतालिका सिरिज प्रसारण हुने जानकारी दिए । सिरिजमा चर्चित नृत्य समूह कार्टुन् क्रुज्का सरोज अधिकारी, आश्मा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।यो  सिरिज मार्च १ गतेबाट कान्तिपुर टेलिभिजनमा प्रसारणमा आएको थियो ।मिलन शङ्कर र ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको उक्त सिरिजलाई ईश्वर गुरुङले निर्माण गरेका हुन् ।