दर्जनौँ म्युजिक भिडियोमा काम गरेर चलचित्रमा आफ्नो पहिचान बनाउन सफल नायिका हुन् –वर्षा राउत । पहिलो चलचित्र ‘नाई न भन्नु ल ४’को सफलता लगतै ‘छक्का पञ्जा’ र ‘जात्रा’ हिट भए । एक वर्षमा तिन चलचित्र सफल भएपछि वर्षा निर्माता–निर्देशकको नजरमा नपर्ने कुरै आएन ।
आफ्नो मोटापनको कारण प्राय आलोचना खाइरहने वर्षालाई यो वर्ष भने उति फापेन । गरेका तिन चलचित्रमा ‘मेरो पैसा खोइ!’ फ्लप भयो भने ‘छक्का पञ्जा २’ र ‘मिस्टर झोले’ सफल भए । तर वर्षालाई जस दुवै चलचित्रले दिन सकेन । करिब दुई महिनाको अस्ट्रेलिया बसाई पछि वर्षा केही दिन अघि नेपाल फर्किएकी छिन् । उनी अस्ट्रेलिया आफ्नो मोटापन घटाउन गएको भन्ने कुरा मिडियामा आएको थियो । उनी भन्छिन् ‘मेरो आफ्नै काम विशेषले गएको थिए । त्यहाँ हुँदा जिम गए । केही तौल घटेको छ । तर नेपाल फर्किएपछि अझ मोटाएको छु । ’