चलचित्र ‘नाई नभन्नु ल ५’मा अभिनेत्री केकी अधिकारीको प्रवेश भएको छ । चैत्र १२ गतेबाट छायाँकन सुरु गरिने चलचित्रमा केकी नायिका बर्षा सिवाकोटीलाई अफर गरिएको रोलमा देखिने भएकी छिन् । बुझिए अनुसार उनको रोललाई केही परिमार्जित गरिएको छ । बर्षालाई चलचित्रमा अर्की नायिका स्वस्तिमा खड्काको फुपुको भूमिकामा अफर गरिएको थियो । तर बर्षाले आफ्नै उमेरको नायिकाको फुपु बनेर नखेल्ने भन्दै चलचित्र छाडेकी थिइन् । सोही भूमिकामा अब अभिनेत्री केकी अधिकारीले गर्ने भएकी हुन् । बिकासराज आचार्यको निर्देशन रहने चलचित्रको शनिबार मैतीदेवी मन्दिरमा शुभमुहर्त गरिएको छ । चलचित्रमा केकी र स्वस्तिमा अलावा अनुभव रेग्मी, प्रियंका कार्की, दीलिप रायमाझी, सेड्रिना शर्मा लगायतका कलाकारको अभिनय रहने छ । नाई नभन्नु ल ५ आउँदो बर्षको भदौ ८ गते रिलिज हुने भएको छ ।