चलचित्र ‘लिलीबिली’को तेस्रो गीत सार्वजनिक भएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्कीको जोडीमा तयार भएको ‘हावा सरी...’ बोलको गीत सार्वजनिक भएको हो । आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको गीत रिलिज गरिएको थियो । सार्वजनिक गीतमा एसडी योगी र मेनुका पौडेलको स्वर रहेको छ भने, दिपेन्द्र घिमिरेको शब्द र गायक योगीको सङ्गीत रहेको छ। टर्कीको स्तानबुलमा खिचिएको भिडियोका छायाँकार सुदिप बराल हुन् । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
चलचित्र ‘लिलीबिली’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । स्कटल्याण्ड, नेपाल र लन्डनमा खिचिएको चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । चलचित्रमा प्रियंका र प्रदीपको अलावा जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र यही आउँदो चैत्र ३० गतेबाट अल नेपाल रिलिज हुदैँछ ।