लभस्टोरी चलचित्रका लागी अब्बल मानिएका निर्देशक सुदर्शन थापाले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । भरखरै मात्र ‘रामकहानी’ नामक चलचित्रको छायाङ्कन सकाएका सुदर्शनले नृत्यमा आधारित रहेर ‘डी फोर डान्स’ निर्देशन गर्ने भएका छन् । बुझिए अनुसार चलचित्रको नाम विकास बोर्डमा दर्ता भइसकेको छ । चलचित्रमा यो पटक पनि नायिका पूजा शर्मा दोहोरिने भएकी छिन् । साथै प्राप्त जानकारी अनुसार पूजासँग भारतका चर्चित डान्सर धर्मेस जोडीको रूपमा देखिने भएका छन् । २०१० मा डान्स इन्डिया डान्स नामक रियालिटी सोबाट चर्चित बनेका धर्मेस पछिल्लो समय डान्स प्लसमा निर्णायकको रूपमा काम गरिरहेको छन् । त्यस्तै उनले ‘एबिसिडी’, ‘एबिसिडी २’ लगायतका केही चलचित्रमा काम गरिसकेका छन् । डान्स सम्बन्धी चलचित्र भएका कारण धर्मेसको मुख्य भूमिका रहने बताइएको छ । बुझिएअनुसार धर्मेससँग कागजी सम्झौता भइसकेको छ । हामीले नायिका पूजा शर्मासँग यस विषयमा बुझ्न खो्ज्दा उनले चलचित्रको बारेका केही बोल्न चाहिनन् । चलचित्रलाई अनिल परियारले निर्माण गर्दै छन् । त्यस्तै यो चलचित्र ‘रामकहानी’ प्रदर्शन भइसके पश्चात् मात्र सुटिङ सुरु हुने बताइएको छ ।