पछिल्लो समय कभर भिडियो प्रतियोगिता चलचित्र प्रमोसन गर्ने राम्रो माध्यम बनिरहेको छ । चलचित्र ‘लम्फु’ले पनि प्रमोसनको रूपमा कभर डान्स प्रतियोगिताको घोषणा गरेको छ । यही आउँदो वैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लम्फुमा समावेश भएको ‘सुको नहोस् यार’को कभर डान्स प्रतियोगिताको घोषणा गरिएको हो । 
चलचित्र ’लम्फू’को डिजिटल अधिकार लिएको ’हाईलाईट्स नेपाल’ले कभर डान्स प्रतियोगिताको आयोजना गरेको हो । कभर भिडियो बनाउनेले info@hightlightsnepal मा २०७५ वैशाख २० गते सम्ममा पठाउन पर्नेछ । ’सुको नहोस् यार’ हाईलाइट्स नेपालको आधिकारिक यूट्युब च्यानलमा रहेको छ ।

उक्त गीतको कभर भिडियोको विजेताले नगद रु. पचास हजारको साथमा अन्य आकर्षक उपहारहरू जित्ने बताइएको छ । यूट्युब भ्यूज, भिडियो मेकिङ्ग, कोरियोग्राफी र निर्णायकको आधारमा २०७५ वैशाख ३१ गते विजेता घोषणा हुनेछ ।गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको ’लम्फू’को यस गीतमा शिव परियारको स्वर रहेको छ भने अर्जुन पोखरेलको सङ्गीत रहेको छ । प्रमोद ढुंगानाले गीत लेखेका हुन् ।कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुसुम श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको ’लम्फू’लाई पपुलर मल्टीमिडियाको लागी शक्तिबल्दभ घोरासैनीले बनाएका हुन् ।
 

लम्फू’को गीतमा नाच्नुस्, पचास हजार जित्नुस्