चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएका नायक हुन्, प्रदीप खड्का । यस वर्ष प्रदीप अभिनित ‘प्रेमगीत २’ रिलिज भयो र सफल पनि रह्यो । लगातार दुई सुपरहिट चलचित्र दिएका प्रदीपको पछिल्लो समय युवापुस्तामाझ लोभलाग्दो फ्यान फलोइङ रहेको छ । यो वर्षको अन्तिममा ( चैत्र ३० गते)  उनी अभिनित चौथोँ चलचित्र ‘लिलीबिली’ रिलिज हुदैँछ । सोही चलचित्रका लागी प्रदीप यति बेला व्यापकरुपमा प्रचार प्रसारमा जुटेका छन् । प्रमोसनको क्रममा चलचित्र ‘लिलीबिली’ टिम यति बेला चितवनमा पुगेको छ । सोमबार चितवनको नारायणी किनारमा आयोजित कन्सर्टमा प्रदीपका फ्यानहरुले उनको क्रेज पुनः एक पटक झल्काइदिएका छन् । प्रदीपलाई हेर्न मात्र हजारौँ फ्यानको भिड थियो । सेल्फी लिनलाई फ्यानको तछाडमछाडले प्रदीपलाई स्टेजसम्म चढ्न हम्मेहम्मे परेको थियो । प्रदीपको यस्तै क्रेज ’प्रेमगीत २’ रिलिज ताका पनि देखिएको थियो ।चितवनको कन्सर्ट पश्चात् टिम पूर्वका दमक, इटहरी, धरान लगायतका सहरमा पुग्नेछ । यस टुरमा प्रदीपको साथमा जसिता गुरुङ, मिलन चाम्स, सुदिप बराल, नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल रहेका छन् ।

देशदौडाहको क्रममा ’लिलीबिली’ टिमले चितवनमा आयोजना गरेको प्रेसमिटमा दर्शकलाई ’लिलीबिली’लाई डेब्यु सरह मान्न प्रदीपले आग्रह गरे । चलचित्रमा निभाएको भूमिका र कामको नयाँ अनुभवले आफूलाई नयाँ उचाइ दिने आशा व्यक्त गर्दै प्रदीपले हरेक नयाँ काम डेब्यु सरह हुने प्रष्ट्याए । उनले भने ’मेरा सबै सिनेमा मेरा लागि डेब्यु नै हुन् ।’
त्यस्तै डेब्यु गर्ल जसिता गुरुङले चलचित्रमा आफूले इमोसनल र सिम्पल केटीको भूमिका निर्वाह गरेको र दर्शकले मन पराइदिने आशा व्यक्त गरिन् । जसितालाई निर्देशक मिलन चाम्सले पहिलो पटक बेलायतको एक नृत्य प्रतियोगितामा देखेका थिए । त्यसपछि अडिसनमा बोलाएर चलचित्रको लागि छनोट गरेको जसिताले खुलाइन । मिलन चाम्सको निर्देशन गोविन्द शाही र सुदिप खड्काको निर्माण रहेको चलचित्रमा  प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय रहेको छ ।