गत शुक्रवार देखि सफलताको चलचित्र ‘शत्रु गते’ प्रदर्शन भइरहेको छ । प्रदर्शन भएको तीन दिनमा ३ करोड २७ लाख बराबरको कलेक्सन गरेको चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।
प्रदर्शनको चौथो दिन चलचित्र हेर्न नेकपा एमालेका पूर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल पुगेका छन् । राजधानीको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनी सहित भीम रावल , देबेन्द्र पौडेल , ठाकुर गैरे , जीवन राम श्रेष्ठ पुगेका थिए ।
पूर्व प्रधानमन्त्री खनालले चलचित्र हेर्ने इच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष सोको आयोजना गरेको थियो । खनाल सहित अन्य शीर्षस्थ नेताको टोली फिल्म हेर्न पुगेको थाहा पाएपछि फिल्म ’शत्रु गते’ युनिट हलमा पुगेको थियो । हरिवंश आचार्य , किरण केसी , दीपक राज गिरी , दीपाश्री निरौला र प्रदीप भट्टराई हल पुगेका थिए । चलचित्र हेरिसके पश्चात् पूर्व अध्यक्ष तथा प्रधानमन्त्री खनालले शत्रुगते रमाइलो वनको जानकारी दिए । उनी भन्छन् ‘हाँसो रोक्ने ठाउँ नै पाइएन् । हँसाउन सफल छ । चलचित्रको चर्चा सुनेर आएको थिए , आफ्नो समय खेर फाले जस्तो लागेन । मह जोडीको काम उत्कृष्ट छ ।’
प्रदीप भट्टराईको निर्देशनमा वनको चलचित्र मह सञ्चारको ब्यानरबाट निर्माण भएको हो । कलाकार किरण केसी यसका प्रस्तुतकर्ता हुन् । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी , दीपाश्री निरौला ,पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।