यस वर्षको अन्त्य यानिकि चैत्र ३०मा रिलिज हुने चलचित्र ‘लिलीबिली’ मोफसल टुर सकाएर काठमाडौँ फर्किएको छ । प्रमोसनमा तीव्रताको साथ लागिरहेको यो टिमले चितवनबाट पूर्वको दमक, धरान र बिर्तामोडमा कन्सर्ट गरी दर्शकलाई मनोरञ्जन दिँदै चलचित्रको बारेमा जानकारी दियो । जहाँ अभिनेता प्रदीप खड्कालाई हेर्न हजारौँ दर्शकको उपस्थिति रह्यो । युवापुस्तामा राम्रो क्रेज बनाएका प्रदीपको मोफसलमा आयोजना भएको कन्सर्टमा दर्शकको भिड लागेको थियो ।
टुरमा प्रदीपको साथमा जसिता गुरुङ, निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का, नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल पुगेका थिए । लिलीबिली टिम सुरुवातमा पोखरा जाने योजना बनाएता पनि मौसम खराबीका कारण पोखरा ल्याण्ड हुन् नसकेको टिम, त्यसपश्चात् चितवन हानिएको थियो । मोफसल टुरबाट फर्किएको टिमले अब राजधानीबाटै प्रचार व्यापक बनाउनेछ । काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाङ्कन छ । लिलीबिलीमा प्रदीप र जसिताको साथमा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय रहेको छ ।