युवामाझ पछिल्लो समय निकै रुचाएका नायक हुन् प्रदीप खड्का र पल शाह । सिनेनगरीमा यी दुई नायकलाई प्रतिस्प्रर्धाको रूपमा हेरिने गरिन्छ । यो वर्ष पल अभिनित 'म यस्तो गीत गाउँछु' रिलिज भयो भने प्रदीप अभिनित 'प्रेमगीत २' रिलिज भयो । यी दुवैको चलचित्रले बक्स अफिसमा धमाका मच्चाइसकेको छ । गत सातामात्र पल अभिनित 'शत्रु गते' रिलिज भयो । यता प्रदीप चैत्र ३० मा रिलिज हुन लागेको 'लिलीबिली'को प्रमोसनमा लागिपरेका छन् ।यी दुई नायक प्राय नायिका पूजा शर्माको कारण चर्चामा आइरहेका हुन्छन् । किनभने प्रदीपको 'प्रेमगीत' र पलको 'म यस्तो गीत गाँउछु'मा पूजाको मुख्य भूमिका रहेको थियो । भलै चलचित्र रिलिज पश्चात् दुवै नायकसँग पूजाको राम्रो सम्बन्ध नभएको मिडियामा गसिप आइरहन्छ ।
दुवैलाई प्रतिस्प्रर्धाको नजरले हेर्ने कारण धेरैले पल र प्रदीपको सम्बन्ध सुमधुर नभएको अनुमान गर्ने गर्दछन् । तर, यी दुई एक अर्काको फ्यान रहेको बताउँछन् । सिनेपाटीसँग कुरा गर्दै प्रदीप भन्छन् 'पलको पहिलेबाट म्युजिक भिडियोहरू हेर्ने गर्दथे । मलाई पनि उहाँ जस्तै मोडल बन्न मन लागेको थियो । एकदुई वटा भिडियो गरे तर फ्लप भयो ।' यता पल थप्छन् 'प्रदीप पछि सिनेमा नगरीमा मेरो प्रवेश भएको हो । उहाँको कामबाट मैले अझ सिक्ने मौका पाएको छु ।' तपाइहरू एकसाथ चलचित्र कहिले गर्नु हुन्छ ? भन्ने प्रश्नमा दुवै भन्छन् 'हामी तयार छौ ।हामी दुवैलाई एकसाथ चलचित्र गर्ने मन पनि छ । कसैले अफर गर्नु हुन्छ भने नाई भन्दैनौ ।'