नायिका केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर एकमा पुगेको छ । बुधवार सार्वजनिक गरिएको ट्रेलरलाई सोमबार दिउँसो सम्म करिब ४ लाख बढीले हेरिसकेका छन् । विशाल भण्डारीको निर्देशन रहेको चलचित्र कोहलपुर एक्सप्रेसको ट्रेलर कमेडीले भरपुर छ ।
ट्रेलरमा केकी कान नसुन्ने युवती, प्रियंका कार्की गर्भवती महिला र ऋचा शर्मा विवादित मोडल तिर्सना बुढाथोकीको रूपमा देखाइएको छ । सबैको लक्ष्य पैसा कमाउने रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । चलचित्रमा केकी, प्रियंका र ऋचाको अलावा बुद्धि तामाङ, विनोद न्यौपाने, रविन्द्र झा र बाल कलाकार कुशाग्र भट्टराईको अभिनय रहेको छ । चलचित्रलाई अर्जुन तिवारीका छायाङ्कन,अर्जुन पोखरेल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको छ। चलचित्र यही वैशाख १४ गतेबाट अल नेपाल रिलिज हुँदै छ ।