आज शुक्रवार सिनेमा घरमा एक मात्र नेपाली चलचित्र 'तिमीसँग' रिलिज भएको छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । तिमीसँगमा निर्देशक राणाको पटकथा रहेको छ भने उनलाई साकार ओझा, समुन्द्र उप्रेती र सुशील छेत्रीले साथ दिएका छन् । ‘तिमि सँग’मा सुशील छेत्रीको छायाङ्कन, बनिश विक्रम शाहरमिलन श्रेष्ठको सम्पादन, राहुल मुखर्जीरदिपक पाठक र रिदम कँडेलको सङ्गीत रहेको छ । चलचित्रको गत बुधवार प्रिमियर सो आयोजना गरिएको थियो । जसमा यसले सकारात्मक प्रतिक्रिया पाएको छ ।
त्यस्तै प्रदिप भट्टराई निर्देशित चलचित्र 'शत्रु गते' तेस्रो सातामा प्रवेश गरेको छ । मह सञ्चारको प्रस्तुति र किरण केसीको निर्माण रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
यता बलिउडतर्फ भने आज बाट इरफान खान अभिनित चलचित्र 'ब्ल्याक मेल' रिलिज भएको छ । अभिनय देवको निर्देशनमा बनेको चलचित्र ‘ब्ल्याक मेल’ मा इरफान खान बाहेक कीर्ति कुल्हारी, अरुणोदय सिंह, दिव्या दत्ता, ओमी वैद्य, अनुजा साठे, प्रधुम्न सिंह मल, गजराज राव लगायतका कलाकारको अभिनय रहेको छ । ब्ल्याकमेलसँगै बलिउड चलचित्र 'बाघी २' पनि सिनेमाघरमा सफलताको साथ प्रदर्शन भइरहेको छ ।