आउँदो शुक्रवार चैत्र ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'लिलीबिली'ले यति बेला आफ्नो प्रमोसन व्यापक रूपमा गरिरहेको छ । केही दिन अघि मोफसलमा प्रमोसन टुर सम्पन्न गरेको चलचित्र युनिटले काठमाडौँको विभिन्न स्थानमा कन्सर्ट आयोजना गरेको छ । चलचित्र युनिटले काठमाडौँको नयाँ बसपार्कस्थित बिजी मल हुँदै उपत्यकाको प्रमोसन सुरु गरेको हो ।
जहाँ चलचित्रका मुख्य कलाकारद्वय प्रदीप खड्का र जसिता गुरुङसँगै निर्देशक मिलन चाम्स, निर्माताद्वय सुदिप खड्का र गोविन्द शाहीले दर्शक झुमाए । युवापुस्ता माझ गज्जबको फ्यान फ्लोविङ बनाएका प्रदीपको क्रेज उक्त कन्सर्टमा पनि देखियो । जब प्रदीप दर्शकसँग सेल्फी लिन मोबाइल तेर्स्याउथे तब दर्शकको आवेग थामीनसक्नु हुन्थ्यो । प्रदीपले दर्शकसँग ‘लिलीबिली’को माया साट्दै थुप्रै सेल्फी पनि लिए । त्यस्तै जसिता गुरुङसँग पनि सेल्फी खिच्न चाहने दर्शकको कमी थिएन कन्सर्टमा ।कन्सर्ट चलचित्र रिलिजसम्म उपत्यकाका काठमाडौँ, भक्तपूर र ललितपुरमा हुनेछ । सिनेमामा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।
काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाङ्कन छ ।