तेस्रो सातामा सफलताको साथ प्रदर्शन भइरहेको चलचित्र शत्रु गतेको जापानमा प्रिमियर हुने भएको छ । यही अप्रिल ८ तारिख आइतबार जापानको टोकियोस्थित नाकानो जिरो हलमा आयोजना हुन लागेको प्रिमियरमा नेपालबाट नायक पल शाह सहभागी हुने भएका छन् ।
उनलाई आज नेपालस्थित जापानी दूतावासले जापान आउने स्वीकृति दिएको छ । एवान इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको प्रिमियरसँगै चलचित्र शत्रु गते टोकियो पश्चात् नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावालगायत सहरहरूमा पनि रिलिज हुने बताइएको छ । कमेडी जनरामा सामाजिक कथा बोकेको चलचित्र ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।