अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको जोडीमा ‘प्रसाद’ बन्ने भएको छ । सोमबार काठमाडौँमा आयोजना भएको एक कार्यक्रमबिच चलचित्रको औपचारिक घोषणा गरिएको हो । निःसन्तानका कारण श्रीमान् र श्रीमतीबिच हुने असमझदारी, अविश्वास तथा आफैँमा उत्पन्न एक  मानसिक द्धन्द्धसँगै सामाजिक मूल्य, मान्यता विरुद्ध मूल पात्रले गर्ने सङ्घर्षलाई चलचित्रमा प्रस्तुत गरिने निर्माण पक्षले बताए । चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दै छन् । दिनेशको निर्देशन र नम्रताको अभिनय रहेको यो चौथो चलचित्र हो । चलचित्रमा विपिन र नम्राताको साथमा नवीन मानन्धरको मुख्य भूमिका रहने छ। 
 सुभाष थापाको लगानीमा निर्माण हुन लागेको चलचित्रको कथा  सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, कोसिस क्षेत्री र सुवास भुषालको सङ्गीत रहनेछ । निर्माण पक्षको अनुसार चलचित्रको छायाङ्कन वैशाखको अन्तिमबाट छायाङ्कन हुने छ।