चलचित्र ‘ड्रिम्स’बाट रजतपटमा प्रवेश गरेकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । नायक अनमोल केसीसँग अपोजिट रहेर काम गरेकी साम्राज्ञीले पहिलो चलचित्रबाट वाहवाही बटु्ल्न सफल भइन् । ड्रिम्सबाट निर्देशक, निर्माताको आँखामा पर्न सफल साम्राज्ञीको डिमाण्डपनि ह्वात्तै बढ्यो । ड्रिम्सपछिको उनको दोस्रो चलचित्र हो ‘ए मेरो हजुर २’ । जुन यही वर्षको भदौमा रिलिज भएको थियो । पहिलो चलचित्रबाट तारिफ पाएता पनि चलचित्र चलेको जस सबै अनमोललाई गएको थियो । तर दोस्रो चलचित्रमा साम्राज्ञीले आफ्नो स्टारडम देखाउने मौका पाइन् ।
‘ए मेरो हजुर २’ सुपरहिट रह्यो ।चलचित्रलाई झरना थापाले निर्देशन गरेकी थिइन् भने उनको अपोजिटमा नव–नायक सलिनमान बानियाँ थिए । ‘ए मेरो हजुर २’ प्रदर्शनताका हलमा साम्राज्ञीको गज्जबको स्टारडम देखिएको थियो । दुई चलचित्र लगातार हिट दिएकी साम्राज्ञीको तेस्रो चलचित्र ‘तिमीसँग’ गत शुक्रवारबाट प्रदर्शनमा आएको छ। छायाङ्कन अनुसार ए मेरो हजुर २ अघि साम्राज्ञीले तिमीसँग गरेकी थिइन् । तर प्रशर्दनको हिसाबले तिमीसँग पछि रिलिज भयो । तिमीसँग हिट भए यो साम्राज्ञीको ह्याट्रिक हो । उनी यसमा कति सफल भइन् त ?हलमा प्रदर्शन भइरहेको तिमीसँगले यति बेला मिश्रित प्रतिक्रिया पाइरहेको छ । न्यून हलसङ्ख्या पाएको चलचित्रले ४ दिनमा लगभग ८० लाख बराबरको कमाई गरिसकेको छ । जुन सन्तोषजनक व्यापार हो । तिमीसँग हेर्न जतिपनि दर्शक तानिएका छन् त्यसको कारण साम्राज्ञीको स्टारडमलाई मानिएको छ ।