पछिल्लो समय नेपाली चलचित्र क्षेत्रको चर्चित नाम हो – पूजा शर्मा । चलचित्र ‘थ्री लभर्स’बाट रजतपटमा डेव्यु गरेकी पूजााले ‘अझै पनि’, ‘चङ्खे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका केही चलचित्रमा काम गरिसकेकी छिन् ।
सिने नगरीमा पूजालाई चिनाएको नाम हो चलचित्र ‘प्रेमगीत’ । जति चलचित्र चल्यो त्यो भन्दा बढी पूजा चलचित्र टिमबिचको कन्ट्रोभर्सीले चलिन् । ‘प्रेमगीत’ प्रदर्शनमा आएसँगै चलचित्रका टिमबिचमा मनमुटाव भयो । चलचित्रका निर्माता र नायक एकतिर भए भने , निर्देशक र नायिका एक तर्फ भए । पूजाले निर्देशकसँग मिलेर नयाँ चलचित्र निर्माण घोषणा गरिन् ।चलचित्र प्रेमगीतको शीर्ष गीतबाट नाम लिएर पूजा र निर्देशक सुदर्शन थापा मिलेर चलचित्र ‘म यस्तो गीत गाउँछु ’ गरे । जुन यो वर्षको पहिलो हिट चलचित्र बन्यो ।
प्रेमगीतबाट चर्चामा आएकी शर्माको नाम निर्देशक सुदर्शन थापासँग जोडिने गरिन्छ । निर्देशक थापाको कारण पूजा सफल हिरोइन भन्नेको कमी छैन । तर पूजा यसकुरालाई मान्दिनन् , उनी भन्छिन् ‘ कोही पनि एकैपटकमा सफल हुदैँन् । प्रेमगीतबाट मात्र चर्चामा आएको भन्न मिल्दैन । मैले पहिलो चलचित्र देखि मेहनत गर्दै, हार नमानी काम गर्दै आए । साथ मिल्दैमा सफल भइँदैन, यदि त्यस्तो भए पहिलो चलचित्रबाट नै म सफल हुने थिए ।’ उनी थप्छिन् ‘ गाली खाए धेरैको, चलचित्र क्षेत्रमा धेरैले साथ दिएका थिएनन् । कहिलेकाहि रुने गर्दथे, कहिले सफल हुन्छु भनेर सोच्थे । तर पछाडि कहिले फर्किएर हेरिन् ।आज आफ्नो कामले सबैलाई प्रमाणित गरिसकेको छु । ’ चलचित्र क्षेत्रको मान्छेले भन्दा बढी दर्शकको साथ र मायाले आफूलाई सधैँ ऊर्जा मिलेको पूजा बताउँछिन् । उनी भन्छिन् ‘काम गर्दै जाने छु , सफल भए या भइन् त्यो मुल्याकंन गर्ने दर्शकको जिम्मा हो।’ पूजा यति बेला चलचित्र ‘रामकाहानी’ निर्माण गर्दै छिन् । चलचित्रको ७५ प्रतिशत छायाङ्कन सकिसकेको बताइएको छ।