रंगमञ्च हुँदै पछिल्लो समय चलचित्रमा सक्रिय रहेका कलाकार हुन् खगेन्द्र लामिछाने । अब्बल अभिनयको कारण दर्शकको मनमा बस्न सफल खगेन्द्र हाल आफू अभिनित चलचित्र डमरुको डण्डिबियोको प्रमोसनमा व्यस्त छन् । प्रमोसनको क्रममा पोखरा पुगेका खगेन्द्र चलचित्र पत्रकार संद्य कास्कीले आयोजना गरेको पत्रकार सम्मेलमा सहभागी भएका थिए । पत्रकार सम्मेलमा बोल्दै खगेन्द्र आफूले लेख्ने र खेल्ने चलचित्र व्यवसायिकताका लागी मात्रै नभएको बताएका छन् । डमरुको डण्डिबियोमा लेखकसमेत रहेका खगेन्द्र भन्छन् “मैले लेख्ने र खेल्ने फिल्म व्यवसायिकताको लागी मात्रै हुँदैन मलाई यो विषय गहन हो भन्ने लाग्यो भने कथा लेख्छु चल्ने नचल्ने फरक पाटो हो ।”डमरुको डण्डिबियोका बारेमा बोल्दै उनले गतबर्ष राष्ट्रिय खेलबाट हटाइएको डण्डीबियो खेललाई प्रमुख विषय बस्तु बनाएको भएता पनि चलचित्रमा पारिवारिक कथा सँगै मायाप्रेम समेत देखाइएको बताए ।कलाकार बुद्धि तामाङले चलचित्रले पछिल्लो समय युवा पुस्ताले बिर्सेको डण्डिबियो खेललाई स्मरण गराउने सँगै खेलको  महत्त्व झल्काउने बताए ।पर्यटन व्यवसायी समेत रहेका निर्माता विनोद गुरुङले बन्दै आएका अन्य नेपाली चलचित्र भन्दा विल्कुल फरक स्वादमा चलचित्र बनेको बताए ।चलत्रिमा खगेन्द्र लामिछाने,बुद्धि तामाङका अलावा मेनुका प्रधान,अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिस्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतको अभिनय रहेको छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा नोर्वु छिरिङ घले र विनोद गुरुङको लगानी छ । चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।
पोखराबाट औपचारिक रूपमा प्रोमेशन यात्रा सुरु गरेको चलचित्र टिम बुटवल , नारायणघाट , हेटौंडा दमक हुँदै बिर्तामोड सम्म पुग्नेछ ।