चलचित्र ‘जय भोले’को टिजर सार्वजनिक भएको छ । ‘मितिनी’ निर्देशक अशोक शर्माले झन्डै १२ वर्षपछि निर्देशन गरेको चलचित्र ‘जय भोले’को टिजरमा चलचित्रका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराज पौडेल फिचर छन् । टिजरमा कलाकारलाई निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । ह्युमर तथा सोसल कमेडी ड्रामा रहेको चलचित्रले दुई केटा साथीबिचको भावनात्मक मित्रता र प्रेमको कथा भन्छ ।

करिब १ करोड ६० लाख लगानीमा निर्माण भएको चलचित्रको छायाङ्कन झापा र इलाममा गरिएको हो । चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायाङ्कन, राजनराज सिवाकोटीरकल्याण सिंहको सङ्गीत, राज ढुंगानाको सम्पादन, वसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ । आगामी दसैँको फुलपातीमा रिलिजको तयारी गरिरहेको चलचित्रलाई निर्देशक शर्माले स्वयंम निर्माण गरेका हुन् ।