वैशाख २८ मा रिलिज हुने नेपाली चलचित्र ‘लम्फू’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलरमा नव(नायक कबिर खड्का र नायक सलोन बस्नेतलाई विशेष फोकस गरिएको छ । अभिनेत्री मरिश्का पोखरेलको प्रेममा कबिर देखिएका छन् । सलोन भने केही फरक भूमिकामा देखिएका छन् । ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई स्थान दिइएको छ । 
 

ट्रेलर रिलिज कार्यक्रममा तरकारीवालीको नामले प्रख्यात कुसुम श्रेष्ठको समेत उपस्थिति थियो । चलचित्रमा कुसुमको पनि छोटो भूमिका रहेको कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा बोल्दै कुसुमले वैशाख २८ मा चलचित्र रिलिज भएपछि प्रतिक्रियाको आधारमा मात्र आफू अभिनयमा अगाडी बढ्ने बताइन् । चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् भने  शक्तिबल्दब घोरासैनीले निर्माण गरेका हुन् । चलचित्रमा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मि भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । चलचित्रमा भूपतिको लेखन रहेको छ । दीपक बज्राचार्यको छायाङ्कन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन् । पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाइन गरेकी छन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकेको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।