सती प्रथामा आधारित चलचित्र ‘झोला’ निर्देशन गरेर चर्चामा आएका यादवकुमार भट्टराई निर्दे्शित चलचित्र ‘भोर’ को ट्रेलर सार्वजनिक भएको छ । तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेर चलचित्र निर्माण गरिएको छ । नयाँ वर्ष २०७५ को छेकोमा निर्माण टिमले दर्शकलाई उपहार स्वरूप ट्रेलर रिलिज गरेको हो ।
चलचित्रको ट्रेलर दाईजोलाई महिला हिंसा मात्र नभई मानव हिंसा भन्दै सामाजिक कुरुतिको रूपमा व्याप्त यो प्रथालाई निर्मुल पार्ने अभियानलाई देखाइएको छ।
चलचित्रको कथा साहित्यकार तथा झोलाकै कथाकार कृष्ण धरावासीले लेखेका हुन् । त्यस्तै चलचित्रलाई निर्देशक भट्टराईले पटकथामा ढालेका हुन् । चलचित्रमा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन् भने राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी हुन् । आउँदो वैशाख २१ बाट प्रदर्शनमा आउने चलचित्रको केही दिन पहिले मिथिलाधाम जनकपुरमा प्रिमियर सम्पन्न भएको थियो । जनकपुर र पोखरामा सम्पन्न प्रिमियर तथा बिहीबार मात्रै हेटौँडामा सम्पन्न च्यारेटीमा फिल्मले उच्च तारिफ बटुल्लेको छ ।